तराई–मधेसलाई प्राकृतिक विपद्ग्रस्त घोषणा, खानेपानी र सिँचाइका लागि युद्धस्तरमा काम हुने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौँ, ७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेस क्षेत्रलाई प्राकृतिक विपद्ग्रस्त क्षेत्र घोषणा गर्दै खानेपानी र सिँचाइ समस्या समाधानमा सरकार युद्धस्तरमा जुट्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूद्वारा उठाइएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिए। “सरकार सम्पूर्ण शक्ति प्रयोग गरेर समस्या समाधानमा लाग्नेछ,” प्रधानमन्त्री ओलीले भने।

उनका अनुसार, पहाडी क्षेत्रमा वर्षा र बाढीको असर परिरहेको छ भने तराई–मधेस सुक्खा पीडित बनेको छ। ‘डिपबोरिङ’ लगायतका तत्कालका उपायलाई सरल बनाउन विपद्ग्रस्त घोषणा आवश्यक रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वलाई कायम गर्दै अल्पकालीन र दीर्घकालीन रणनीति मार्फत समस्याको समाधान गरिने बताए। “सरकारले कुनै कसर बाँकी राख्दैन,” उनले स्पष्ट पारे।
