
भक्तपुर, साउन ८ – भक्तपुरको बोडे, सिन्टिटारस्थित घरमा दुई दिदीबहिनी १७ वर्षीया मेनुका र १५ वर्षीया सृजना कँडेल बिहीबार बिहान ६:४५ बजे मृत फेला परेका छन्। उनीहरूले एउटै डोरीको पासो लगाई आत्महत्या गरेका हुन्।
घटनाअघि उनीहरूले आत्महत्या तयारीको फोटो खिची सेल्फीमोडमा टिकटक बनाएका थिए। भिडिओमा ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’ भन्ने गीत प्रयोग गरिएको थियो। प्रहरीका अनुसार मोबाइलमा उक्त टिकटक भेटिएको छ।
मृतक दिदीबहिनी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का हुन्। बाबुआमा भारतमा रोजगारमा छन् भने काठमाडौंको कलंकीमा उनीहरूको आफन्त बस्दछन्। भारतबाट भागेर नेपाल आएको र परिवारलाई केही नबताई काठमाडौंमा बसेको खुलेको छ।

आत्महत्याअघि उनीहरूले फेसबुकमार्फत आफन्तलाई ब्लक गरेका थिए। फेसबुकमा बाबुको नम्बर राखेकै आधारमा प्रहरीले सम्पर्क गर्न सकेको थियो। हाल घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
