
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार (साउन १७ गते) पनि राष्ट्रिय परिचयपत्र (National ID) सेवाको सुविधा उपलब्ध गराउने भएको छ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार सामाजिक सेवा सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गरी यो विशेष व्यवस्था गरिएको हो। सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको कारण अहिले सेवाग्राहीहरू दैनिक रूपमा प्रशासन कार्यालयमा भीड लाग्ने गरेको छ।
हाल जिल्लामा दैनिक १०० भन्दा बढी व्यक्तिले राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्ने गरेको कार्यालयले जनाएको छ। यसै कारण सेवाग्राहीलाई थप सहज बनाउन शनिवार पनि सेवा दिने निर्णय गरिएको हो।
प्रजिअ तामाङले भने, “सामाजिक सुरक्षा भत्ता पाउने वरिष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूसहितका सेवाग्राहीलाई तत्कालै राष्ट्रिय परिचयपत्र आवश्यक भएको छ। यसलाई ध्यानमा राख्दै शनिबार पनि निरन्तर सेवा दिने व्यवस्था गरिएको हो।”

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवाग्राहीलाई सहज र छिटो सेवा प्रवाह गर्नका लागि आवश्यक तयारी मिलाएको जनाएको छ। साथै, राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई समयमै सम्पन्न गर्न सबैलाई आफ्नो पालो अनुसार उपस्थित भई सेवा लिन आग्रह गरिएको छ।
👉 यसअघि पनि जिल्लाका विभिन्न पालिकामा मोबाइल टोलीमार्फत परिचयपत्र सेवा उपलब्ध गराइएको थियो भने कार्यालयमा भने कार्यदिवसमा भीड चाप बढ्दै गएको छ।
