
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल कम्पनीहरूले नेपालको कानुन र संविधानलाई अस्वीकार गर्दै राष्ट्रलाई नै बेवास्ता गरेको आरोप लगाएका छन्। उनले यस्तो व्यवहारले देशको अपमान भएको बताउँदै सरकारले गरेको प्रतिबन्धको कदम उचित ठहरिने दाबी गरे।
एमालेको दोस्रो विधान महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई व्यक्तिगत रूपमा कति आलोचना भए पनि सहन सक्ने तर राष्ट्रिय स्वाभिमानमाथि हुने अपमान सहन नसक्ने स्पष्ट पारे। “मलाई जसले जतिसुकै हेपोस, मलाई फरक पर्दैन। तर देशलाई हेप्ने कुरा सहन सकिँदैन,” उनले भने।
उनका अनुसार सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई विगत एक वर्षदेखि नेपालमा कानुनअनुसार दर्ता हुन, कर तिर्न र उत्तरदायी बन्न आग्रह गरेको थियो। तर उनीहरूले “तिमीहरूको संविधान र कानुनसँग मतलब छैन” भन्दै अटेरी देखाएको कारण प्रतिबन्ध लगाइएको हो।

सरकारको कदमविरुद्ध आएको आलोचनालाई खण्डन गर्दै उनले राष्ट्रिय स्वाभिमानभन्दा केही व्यक्तिको रोजगारलाई ठूलो ठान्न नहुने बताए। “केही तथाकथित बुद्धिजीवी भन्छन्, चार जनाको जागिर खोसियो रे। के चार जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान ठूलो ?” ओलीले प्रश्न गरे।
उनले नेपालीले विगतमा भोकै बसेर पनि राष्ट्रिय स्वाभिमान जोगाएको, नाकाबन्दी सहेर पनि आत्मसम्मान नत्यागेको स्मरण गराउँदै, अहिले पनि त्यही भावना आवश्यक रहेको उल्लेख गरे। साथै, उनले केही दलहरूले क्षणिक स्वार्थका लागि राष्ट्रियताको मुद्दामा कमजोरी देखाएको भन्दै आलोचना पनि गरे।
