
काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध जेन–जी युवाहरूले सोमबार आयोजना गरेको प्रदर्शन देशव्यापी संघर्षमा परिणत भएको छ । सरकारले कर्फ्यू जारी गरेको काठमाडौं उपत्यकामा मात्रै १६ जनाको ज्यान गएको छ भने देशभर गरेर १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । घाइतेको संख्या २५६ पुगेको छ ।
संघीय संसद भवनतर्फ प्रदर्शनकारी अघि बढेपछि बानेश्वर क्षेत्रमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो । घटनापछि राजधानीका अस्पतालहरू पीडितले भरिएका छन् ।
- सिभिल अस्पतालमा ३ जनाको मृत्यु, १०० जना घाइते उपचाररत । गम्भीर १५ जनालाई वीर र ट्रमामा पठाइएको छ ।
- ट्रमा सेन्टरमा ८ जनाको मृत्यु, ४९ घाइते उपचाररत, विपद् योजना लागू ।
- वीर अस्पतालमा ६ जना गम्भीर घाइते ।
- एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु, ३४ घाइतेमध्ये ७ गम्भीर ।
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ घाइते ।
- **काठमाडौं मेडिकल कलेज (KMC)**मा २ जनाको मृत्यु, ३२ घाइते, ६ जनाको शल्यक्रिया आवश्यक ।
- त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु, १८ घाइते उपचाररत ।
- नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ घाइते ।

उपत्यकाबाहिर पनि भिडन्त तीव्र बनेको छ । पोखराको गण्डकी अस्पतालमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र झापाको दमकमा ७ जना घाइते छन् । यस्तै, इटहरीमा प्रहरीले चलाएको गोलीबाट २ जनाको मृत्यु भएको ताजा जानकारी आएको छ ।
स्थिति नियन्त्रणमा लिन सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरे पनि विभिन्न शहरमा प्रदर्शनकारी सडकमा नै टिकेका छन् । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
