
काठमाडौँ । बाराको जंगलमा स्थानीयवासीलाई आतंकित बनाउँदै आएको नरभक्षी बाघ अन्ततः नियन्त्रणमा ल्याइएको छ । तीन महिनाको अवधिमा चारजनाको ज्यान लिएको र एक सैनिकलाई घाइते बनाएको बाघलाई सेना, प्रहरी र विज्ञ टोलीको संयुक्त प्रयासमा पक्रिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सुझावमा सुरक्षाकर्मीहरूले चुरियामाई सामुदायिक वन क्षेत्रमा विशेष रणनीति अपनाएका थिए । वनका विभिन्न स्थानमा राँगा बाँधेर क्यामेरा जडान गरिएको थियो । क्यामेरामा बाघ आक्रमण गर्न आएको पुष्टि भएपछि डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अभियानमा छ वटा हात्तीको सहयोग लिइएको थियो । जितपुर सिमरा उपमहानगरपालिका–२१ अन्तर्गत चुरियामाई सामुदायिक वनको आधाभार नजिकैबाट बाघलाई नियन्त्रणमा लिएको प्रहरी चौकी अमलेखगञ्जका वरिष्ठ सई धनबहादुर श्रेष्ठले जानकारी दिए ।

नरभक्षी बाघलाई सुरक्षित राख्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जमा सारिएको छ । स्थानीय बासिन्दाले लामो समयदेखि माग गर्दै आएको बाघ नियन्त्रणले अब समुदायमा केही सहजता आउने विश्वास गरिएको छ ।
