
काठमाडौँ – आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संघीयताको ढाँचा बलियो बनाउँदै प्रदेश र स्थानीय सरकार खारेज गर्ने साहसिक प्रस्ताव अघि सारेका छन्। शनिबार राजधानीमा सुरु भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै साहले वर्तमान राजनीतिक प्रणालीलाई नै “भ्रष्टाचारको कारखाना” ठहर गर्दै मूल सुधारबिनाको देशको भविष्य असम्भव रहेको चेतावनी दिए।
साहका अनुसार सरकार मात्र होइन, समग्र सत्ता संरचनाले नै जनतालाई लुटेको छ। “मुलुकमा मौलाएको भ्रष्टाचार, कुशासन र अनियमितताले राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रलाई धरासायी बनाएको छ,” उनले भने, “त्यसैले आवश्यक परे संविधान खारेज गरेर पनि जनताको पक्षमा नयाँ मार्ग रोज्नुपर्छ।”
उनले संसद, सर्वोच्च अदालतदेखि सिंहदरबारसम्म षड्यन्त्रपूर्ण गतिविधि भइरहेको आरोप लगाउँदै उच्चस्तरीय छानबिनको माग गरे। परराष्ट्र र रक्षा मन्त्रालय लामो समयदेखि नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले सुरक्षा निकाय र तिनका शीर्ष तहको भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्ने औँल्याए।

साहले दुई वर्षअघि आजपाले घोषणा गरेको तेस्रो जनआन्दोलनको स्मरण गर्दै अहिले जेन–जी पुस्ताले उठाएको विद्रोहलाई सकारात्मक कदमका रूपमा स्वागत गरे। उनका अनुसार जेन–जी आन्दोलनले उठाएका मुद्दा जनभावनाको प्रत्यक्ष प्रतिनिधित्व हो, तर त्यसलाई अपहरण गर्ने प्रयास भइरहेको छ।
“बिग्रिएको व्यवस्था भत्काएर भ्रष्ट नेताहरूलाई हटाएपछि मात्रै मुलुक बन्छ,” उनले चेतावनी दिंदै भने, “संविधान र सरकारको असफलता स्वीकार गरेर नयाँ संरचना बनाउने साहस राजनीतिक नेतृत्वले देखाउनैपर्छ।”
