
काठमाडौँ । सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ सय र ५ सय दरका भारतीय नोट प्रतिव्यक्ति अधिकतम २५ हजार भारुसम्म भारत–नेपाल लान र ल्याउन पाउने व्यवस्था लागू गरेको हो ।
निर्णय सार्वजनिक गर्दै सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले सन् २०१६ नोभेम्बर ९ पछि निष्कासनमा आएका भारतीय नोट मात्र चलनचल्तीमा ल्याउन सकिने स्पष्ट पारे । उनका अनुसार नेपाली तथा भारतीय नागरिक दुवैले प्रतिव्यक्ति २५ हजार भारुसम्म भारतबाट नेपाल भित्र्याउन तथा नेपालबाट भारत लैजान सक्नेछन् ।
यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारतीय नोट नेपाल–भारत ओहोरदोहोर गर्न पाउने व्यवस्था खुला गरिसकेको थियो । आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोटसमेत सीमा वारपार गर्न सकिने प्रावधान लागू गरेपछि नेपाल सरकारले पनि सोही अनुरूप प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

भारतले सन् २०१६ मा ५ सय र १ हजार दरका नोटको नोटबन्दी गरेसँगै ती नोट नेपालमा ल्याउन र लैजान पूर्ण रूपमा रोक लगाइएको थियो । त्यसपछि भारतले नेपालमा रहेका ठूला दरका भारतीय नोट सटही नगरेपछि नेपाल सरकारले पनि १ सयभन्दा माथिका भारतीय नोटको चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो ।
नेपाल–भारत खुला सीमा, व्यापारिक निर्भरता र आवतजावतको सहजतालाई ध्यानमा राख्दै दुवै देशबीच नोट ओहोरदोहोरको व्यवस्था पुनः खुला गरिएको सरकारको भनाइ छ ।
नोटबन्दीको समयमा नेपालका बैंकिङ प्रणालीमै करिब ५ करोड भारु बराबरका ठूला दरका भारतीय नोट थन्किएका थिए । ती नोटहरू अझै पनि सटही हुन बाँकी रहेको बताइएको छ ।
