
कपिलवस्तु।
कपिलवस्तु जिल्लामा केही दिनयता अत्यधिक चिसो, कुहिरो र शीतलहर बढेसँगै सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन् ।
बाक्लो कुहिरो लाग्ने तथा तापक्रम निरन्तर घट्दै जाँदा चिसोबाट बच्न नसक्दा स्वास्थ्य समस्याहरू देखिन थालेका छन् । स्थानीय स्वास्थ्य संस्थाहरूका अनुसार रुघाखोकी, ज्वरो, निमोनिया, दम तथा छालासम्बन्धी रोगका बिरामीहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।
चिसोका कारण विद्यालय जाने बालबालिकालाई समस्या परेको अभिभावकहरूको गुनासो छ । बिहानै विद्यालय जानुपर्ने बालबालिका चिसोले काँप्दै निस्कनुपर्ने अवस्था आएको स्थानीय अभिभावक बताउँछन् । अधिकाश विद्यालयहरू बन्द गरिएकाे छ ।
वृद्धवृद्धाहरू चिसो सहन नसक्ने भएकाले घरबाहिर निस्कनसमेत कठिन भएको बताइन्छ । विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका वृद्धवृद्धाहरू पर्याप्त न्यानो कपडा र ओढ्ने नपाउँदा बढी जोखिममा परेका छन् ।

चिसोका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू समेत प्रभावित भएका छन् । बिहानै काममा निस्कन नसक्दा आम्दानी घटेको उनीहरूको भनाइ छ । सडक, खेतबारी तथा खुला स्थानमा काम गर्ने मजदुरहरूलाई चिसोले बढी असर गरेको छ ।
चिसो र कुहिरोका कारण यातायातसमेत प्रभावित भएको छ । बिहानको समयमा दृश्यता कम हुँदा सवारी साधनहरू बिस्तारै चलाउनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ । यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
स्थानीय प्रशासन र सरोकारवाला निकायले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्यकर्मीहरूले न्यानो कपडा लगाउने, बिहान–बेलुकी अनावश्यक रूपमा घरबाहिर ननिस्कने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएका छन् ।
यस्तै, स्थानीय तह र सामाजिक संघसंस्थाले विपन्न तथा असहाय नागरिकका लागि न्यानो कपडा, कम्बल वितरणलगायत राहत कार्यक्रमलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ । मौसम अझै केही दिन चिसो रहने पूर्वानुमान रहेकाले जनजीवन थप प्रभावित हुने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।
