
शहबाज खान , कपिलवस्तु
कपिलवस्तुका ऊर्जावान, कर्मशील तथा लोकप्रिय युवा नेता मिर्जा राशिद बेग राष्ट्रिय राजनीतिमा थप सशक्त रूपमा उदाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा उनको नाम समावेश भएपछि कपिलवस्तु मात्र होइन, लुम्बिनी प्रदेशभर उनको चर्चा चुलिएको हो।
मुस्लिम समुदायतर्फको समानुपातिक सूचीमा असिफ शाह पहिलो र मिर्जा राशिद बेग दोस्रो वरियतामा परेका छन्। रास्वपाको जनसम्पर्क विभागका केन्द्रीय सदस्यसमेत रहेका बेग कपिलवस्तु जिल्लाबाट एकल नाम सिफारिस हुने नेता बनेका छन्, जसले पार्टीभित्रको विश्वास र उनको बलियो जनआधारलाई संकेत गर्छ।

रास्वपा केन्द्रीय समिति तथा लुम्बिनी प्रदेश छनोट समिति संयोजक गणेश पराजुलीका अनुसार घरदैलो अभियान, नीति–कार्यक्रम समेटिएको ब्लुप्रिन्ट प्रस्तुति र भोटिङबाट प्राप्त अंकका आधारमा समानुपातिक सूची तयार गरिएको हो। यस प्रक्रियामा बेग उच्च मूल्याङ्कनसहित छनोट भएका हुन्।
छोटो समयमै पार्टी संगठन सुदृढीकरण, युवालाई राजनीतिमा आकर्षित गर्ने अभियान र समावेशी राजनीतिका पक्षमा सक्रिय रहँदै आएका मिर्जा राशिद बेगलाई कपिलवस्तुका सम्भावित राष्ट्रिय नेताका रूपमा हेर्न थालिएको छ। उनको नाम बन्द सूचीमा परेपछि स्थानीय स्तरमा समर्थक तथा शुभेच्छुकहरूमा उत्साह थपिएको छ।
