
पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा ‘नो केवलकार’ पक्ष फेरि आन्दोलित भएको छ। शुक्रबार ताप्लेजुङको फुङलिङ र ललितपुरमा एकसाथ पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनको औपचारिक घोषणा गरेका हुन्।
फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा केवलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले मन्त्रिपरिषद् स्तरीय निर्णयबाट केवलकार खारेजी नै अन्तिम सहमति हुनुपर्ने बताए। स्थान परिवर्तन गरेर निर्माण गर्ने कुनै प्रस्ताव स्वीकार्य नहुने उनको स्पष्ट भनाइ थियो।
सरकारले दमनको बाटो रोजे आन्दोलन थप सशक्त बनाइने चेतावनी दिँदै उनले विगतमा पनि चरम दमन भए तापनि आन्दोलन नरोकिने दाबी गरे।

केवलकार निर्माणको विरोध गरिरहेका महेन्द्र लावती र निर्माण कम्पनीका सञ्चालक पक्षसँग जोडिएका व्यक्तिहरूको राजनीतिक भूमिकाबारे उठेको प्रश्नमा उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेनले एकीकरण र समानुपातिक सूचीबारे गम्भीर निर्णय हुने बताए।
‘नो केवलकार’ पक्षले पुस २२ गतेदेखि गाउँघर भेला, माघ १२ गते पूर्वी नेपालका जिल्लामा कोणसभा, माघ १६ गते फुङलिङमा प्रदर्शन, १८ गते पाथीभरामा सांकेतिक कार्यक्रम तथा माघ १९ गते पाथीभरा क्षेत्रमा प्रदर्शन गर्ने लगायत चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
