
काठमाडौँ — पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म मनाइने स्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरु भएको छ । वैदिक सनातन परम्पराअनुसार सतीदेवीका अङ्ग पतन भएका शक्तिपीठमा पूजा–आराधना गर्ने विश्वासका साथ यो व्रत प्रचलनमा आएको मानिन्छ ।
यस अवधिमा बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा र बेलुकी स्वस्थानी व्रत कथाको वाचन–श्रवण गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजा, १०८ थरीका सामग्री अर्पण र जाग्राम बसेर व्रत समापन गरिन्छ ।

धर्मशास्त्रअनुसार स्वस्थानी देवी चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा धारण गरेकी देवी हुन् । विधिपूर्वक व्रत गरेमा मनोकामना पूरा हुने, रोगव्याधि निको हुने र बिछोडमा परेका जोडी पुनर्मिलन हुने विश्वास छ ।
यसै अवसरमा आजैदेखि उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा पर्ने साँखुस्थित शालिनदीमा माधवनारायण मेला पनि सुरु भएको छ । माघ महिनाभर शालिनदीमा स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरे पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।
