
काठमाडौं । आज देशभर पश्चिमी वायूको प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको विज्ञप्तिमा कोशी प्रदेशका पहाडी र हिमाली भूभागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने उल्लेख छ । बाँकी क्षेत्रको मौसम भने प्रायः सफा रहने अनुमान गरिएको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।
रातिको समयमा पनि तराई क्षेत्रका धेरै स्थानमा कुहिरो लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुनः हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ ।

महाशाखाका अनुसार आगामी २४ घण्टाभित्र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुन सक्नेछ भने तराईका भूभागमा कुहिरो लाग्ने सम्भावना रहेको छ । मौसमको यस अवस्थाले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
