
कपिलवस्तु , फाल्गुन ११
दक्षिण एसियाको सबैभन्दा सुरक्षित र संरक्षित पुरातात्विक स्थल तिलौंराकोट नजिकै रहेको कपिलवस्तु संग्राहालयले दर्शक आकर्षित गर्न सकेको छैन । तिलौंराकोट र आसपास फेला परेका पुरातात्विक बस्तु र संरचना राखिएको उक्त संग्राहालयमा सर्वसाधारण बिरलै पुग्छन् ।
शाक्य वंशको राजधानी तिलौराकोटबाट नजिकै र तौलिहवा–गोरुसिङ्गे सडक खण्ड अन्तर्गत रहेको संग्राहालयले दर्शक पाउन सकेको छैन् । तिलौराकोट अवलोकनपछि पर्यटक सिधै फर्किने गरेका छन् । उनीहरु संग्राहलय अवलोकनका लागि पुग्दैनन् । त्यसैले प्रत्येक वर्ष संग्राहालय अवलोकन गर्ने पर्यटक घटिरहेका छन् । संग्राहलयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा ९ हजार ३३४ जना पर्यटकले संग्राहालयको अवलोकन गरेका थिए । चालु आर्थिक वर्ष २०८२–८३ को पौष मसान्त सम्ममा ३ हजार ८८२ जना पर्यटकको आगमन भएको छ ।
संग्राहालयमा अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा ९ हजार ९ सय २९ पर्यटकले अवलोकन गरेका थिए । यो बिगतको बर्षहरुको तुलनामा झण्डै ६ प्रतिशत गिरावट हो । यस्तै, आर्थिक वर्ष २०७९–८० मा १३ हजार ४ सय ७९ पर्यटकले अवलोकन गरेको तथ्यांक छ । संग्रहालयका सूचना अधिकारी नारायण भुसालका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा ७ सय ६१ विदेशी पर्यटकले अवलोकन गरे । त्यस्तै २ हजार ६ सय ४२ नेपाली विद्यार्थी र ३ हजार ९ सय ३४ नेपाली पर्यटकले अवलोकन गरेका थिए ।
आर्थिक वर्ष २०८०–८१ मा १ हजार ३ सय ३६ विदेशी पर्यटकले अवलोकन गरे । त्यस्तै ३ हजार ५ सय ७८ नेपाली विद्यार्थी र ३ हजार ९ सय ४२ नेपाली पर्यटकले अवलोकन गरेका थिए । अघिल्लो आव ०७९–८० मा १ हजार ४ सय ९ विदेशी, ४ हजार ४ सय ९५ नेपाली विद्यार्थी र ७ हजार ५ सय ७५ नेपाली पर्यटकले अवलोकन गरेका थिए ।

राजा शुद्धोधनको राजधानी प्राचीन कपिलवस्तुको राजदरबार तिलौराकोट सहर जाने १५ प्रतिशत पनि पर्यटक संग्रहालय जाँदैनन् । प्रचारप्रसारको अभावमा संग्रहालयमा निकै कम पर्यटक जाने गरेका हुन् । संग्रहालयमा भगवान् गौतम बुद्ध, उनका पिता र अन्य ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका वस्तु संग्रहित छन् । संग्रहालयमा माटाका भाँडाकुँडा, जगुर, पालिस गरिएका ग्रे बेयर, एबीपी, रेड बेयर, पञ्चमार्क चाँदीका सिक्का, शीलछाप र विभिन्न पत्थर संग्रहित छन् । ‘संग्रहालय भवन जीर्ण हुँदा समस्या भइरहेको थियो,’ संग्रहालय अधिकृत प्रमुख शान्ति शेर्माले भनिन्, ‘नयाँ भवनमा सरेपछि व्यवस्थित भएको छ । तर, पर्यटक नआउँदा सुनसान हुन्छ । यसको राम्रो प्रचारप्रसार गरेर पर्यटकीय आकर्षण बढाउनेतर्फ लाग्नु पर्छ ।’
नयाँ आधुनिक संग्रहालय भवन पुरातत्व विभागले कपिलवस्तु नगरपालिका–३, रामघाटमा ४ करोड ३२ लाखमा निर्माण गरेको हो । संग्रहालय १ सय ३१ फिट लम्बाइ र ८१ फिट चौडाइको छ । संग्रहालय भवनसँगै साइकल, मोटरसाइकल राख्ने पार्किङ स्थल पनि बनाइएका छन् । संग्रहालयमा विष्णु, शिव, पार्वती, सूर्य बराहका विभिन्न देव मूर्तिहरू, बाह्मी लिपियुक्त विभिन्न आकृतिका मानव मूर्ति लगायत मुद्राशील, गहना र हातहतिहयार संग्रहित छन् ।
राजा शुद्धोदनको राजप्रासाद तथा बुद्धले २९ वर्षको युवावस्था बिताएको तिलौराकोट, धमनिहवा स्तुप, निग्रोधाराम (कुदान), अरौराकोट र सिसहनिया लगायतका ठाउँमा उत्खनन गर्दा पाइएका पुरातात्विक वस्तु संग्रहालयमा संग्रहित छन् ।
यहाँ विशेष गरी बौद्ध धर्म मान्ने मुलुकबाट विदेशी पर्यटक आउने गर्छन् । बुद्ध धर्मावलम्बी भने यहाँको पाइला नटेकेसम्म पुण्य प्राप्ति नहुने हुनाले पवित्र स्थल मानेर यहाँ आउने पुरातत्वविद्हरुको भनाइ छ ।
?
