
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ ।
कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रदेश सरकारहरुलाई परिपत्र गर्दै अनावश्यक खरिद रोक्न भनेको हो ।
निर्देशनअनुसार कार्यालयमा हाल प्रयोग भइरहेका सामान, औजार, उपकरण, फर्निचर तथा सवारीसाधनलाई सम्भव भएसम्म मर्मत गरेर सञ्चालनमा राख्नुपर्नेछ । साथै सार्वजनिक खर्चलाई नियन्त्रण गर्दै मितव्ययी ढंगले काम गर्न आग्रह गरिएको छ ।

सरकारले विशेषगरी कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटपलगायत सामग्री प्रयोगयोग्य हुँदाहुँदै नयाँ खरिद गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
यस्तै, सामान्य मर्मतमा पनि अस्वाभाविक खर्च हुने गरेको र त्यसले राज्यकोषमा अनावश्यक भार परेको गुनासो आएपछि प्रधानमन्त्री कार्यालयले यस्तो निर्देशन जारी गरेको जनाएको छ ।
