देशभर मौसमको दोहोरो चित्रः पश्चिममा प्रचण्ड गर्मी,पूर्वमा लगातार वर्षा

0
Quantam abroad studies

देशभर मौसमको दोहोरो चित्र देखिएको छ । एकातिर पश्चिम नेपाल प्रचण्ड गर्मीले तातिरहेको छ भने अर्कोतिर मध्य र पूर्वी भू–भाग लगातार वर्षाले भिजिरहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका तराई जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस आसपास पुग्दा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका अधिकांश क्षेत्रमा वर्षा भएको हो ।

पछिल्लो २४ घण्टामा पूर्व र मध्य नेपालका धेरैजसो स्थानमा पानी परे पनि पश्चिमतिर भने केही ठाउँबाहेक वर्षा हुन सकेको छैन । सुनसरीको चतरामा झन्डै १०० मिलिमिटर वर्षा मापन भएको छ भने झापाको केचनामा दुई घण्टामै १५२ मिलिमिटर पानी परेर स्थानीय जनजीवन प्रभावित बनेको छ ।

मौसमविद्हरूका अनुसार अहिले नेपालमा पश्चिमी वायु र पूर्वबाट प्रवेश गरिरहेको मनसुनी हावाबीचको टकरावले यस्तो विपरीत मौसम सिर्जना गरेको हो । पूर्वी क्षेत्रमा मनसुनी प्रभाव सक्रिय हुँदा पश्चिम नेपाल सुक्खा र तातो बनेको मौसमविद् विनोद पोखरेलले बताउनुभएको छ ।

sahani furniture udyog

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै केही दिन अत्यधिक गर्मी कायम रहने जनाएको छ । यता पूर्वी नेपालमा भने वर्षाको क्रम जारी रहने सम्भावना रहेको छ ।

नेपालमा औपचारिक रूपमा मनसुन भित्रिन अझै केही समय बाँकी भए पनि यसपटक औसत मितिभन्दा केही दिनअघि नै मनसुन प्रवेश गर्ने संकेत मौसमविद्हरूले गरेका छन् । सामान्यतया नेपालमा मनसुन जुन १३ तारिख आसपास भित्रिने गर्दछ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.