
मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण भारतमा पेट्रोल–डिजलको मूल्य अझै महँगिन सक्ने संकेत देखिएको छ । आईएमएफकी पूर्व डेपुटी म्यानेजिङ डाइरेक्टर तथा हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक गीता गोपीनाथ ले ऊर्जा संकट, महँगी र मुद्रा कमजोर हुने जोखिमसहित भारतको अर्थतन्त्रलाई ‘ट्रिपल अलर्ट’ दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनका अनुसार अमेरिका–ईरान तनाव लम्बिए कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल १४० डलरसम्म पुग्न सक्छ । भारतले अधिकांश कच्चा तेल मध्यपूर्वबाट आयात गर्ने भएकाले होर्मुज क्षेत्रमा बढेको तनावले इन्धन आपूर्तिमा दबाब बढाएको विश्लेषण गरिएको छ ।
पछिल्ला दिनमा भारतमा पेट्रोल–डिजलको मूल्य दुई पटक बढिसकेको छ भने आगामी दिनमा प्रतिलिटर थप ७ देखि ९ रुपैयाँसम्म वृद्धि हुन सक्ने अनुमान गरिएको छ । इन्धन महँगिएसँगै ढुवानी, एलपीजी, मलखाद र दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

विशेषज्ञहरूले इन्धन मूल्यवृद्धिको असर भारतको आर्थिक वृद्धिदरमा समेत पर्न सक्ने बताएका छन् । यसैबीच भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा थप कमजोर बन्ने सम्भावना रहेको चेतावनी पनि दिइएको छ ।
भारतमा इन्धन मूल्य बढे त्यसको प्रभाव नेपालमा पनि पर्ने सम्भावना छ । नेपालले पेट्रोलियम पदार्थ भारतबाटै आयात गर्ने भएकाले पेट्रोल, डिजल र ग्यासको मूल्यमा दबाब बढ्न सक्ने ऊर्जा क्षेत्रका जानकारहरूको भनाइ छ ।
