
काठमाडौँ, असोज १८
फ्लाई दुबईका एक सह-पाइलटले यात्रुवाहक विमान दुर्घटना गराउने हिंसक प्रयास गरेको र यात्रु तथा चालक दलका अन्य सदस्यहरूले उनलाई नियन्त्रणमा लिएको केही दिन बितिसक्दा पनि उनको उद्देश्यबारे प्रश्नहरू उठिरहेका छन्। उनीसँग हाल संयुक्त अरब इमिरेट्समा सोधपुछ भइरहेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार बुधबार दुबईबाट तेल अवीवका लागि उडेको विमान इजरायल नजिक पुग्दै गर्दा सह-पाइलटले ककपिटमा रहेको आपतकालीन बन्चरो र छुरा प्रयोग गरी विमानका क्याप्टेनमाथि आक्रमण गर्नुका साथै विमान दुर्घटना गराउने प्रयास गरेका थिए। क्याप्टेनले ककपिटको ढोका खोल्न मिल्ने गरी सह-पाइलटलाई केही समय रोक्न र प्रतिवाद गर्न सफल भए। लगत्तै यात्रुहरूले सह-पाइलटलाई नियन्त्रणमा लिए। त्यसपछि सोही उडानमा रहेका दुई जना ‘अफ-ड्युटी’ (ड्युटीमा नरहेका) पाइलटले विमानको नियन्त्रण सम्हाल्दै साउदी अरबको ताबुकमा आपतकालीन अवतरण गराए।
विमानमा १७४ जना सवार थिए। घटनामा कुनै पनि यात्रु गम्भीर घाइते भएनन्। तर, आक्रमणमा परी क्याप्टेनलाई चोट लागेको थियो। साउदी अधिकारीहरूका अनुसार चालक दलका दुई सदस्यलाई सामान्य चोटपटकका कारण अस्पताल भर्ना गरिएको थियो। साउदी अरेबियामा नियन्त्रणमा लिइएका ती सह-पाइलटलाई इजरायली, युएई र साउदी अधिकारीहरूको समन्वयमा बिहीबार युएई सारिएको छ र उनीसँग त्यहीँ सोधपुछ भइरहेको छ।

को थिए फ्लाईदुबईका ती सह-पाइलट?
उक्त उडानका सह-पाइलटको पहिचान आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन। यद्यपि अनुसन्धानसँग परिचित स्रोतहरूले बताएअनुसार उनको नाम हमाम अल-हमामी हो।
अल-हमामीले यसअघि ओमान एयरमा छोटो समय काम गरेका थिए, जहाँ उनी नयाँ पाइलटको तालिममा थिए। ओमानी सरकारको निगरानीका क्रममा उनी अतिवादी वेबसाइटहरू हेर्ने गरेको फेला परेपछि ओमान एयरले उनलाई ‘डेस्क जब’ (कार्यालयको काम) मा सरुवा गरेको थियो। स्रोतका अनुसार डेस्क ड्युटीमा सारिएपछि उनले सन् २०२४ तिर ओमान एयरबाट राजीनामा दिएका थिए।
त्यस्तै, एक समय अल-हमामीले दुबईमा ‘एल अल’ इजरायली एयरलाइन्सका विमानहरूको भिडियो पोस्ट गरेका थिए, जसको अन्त्यमा सन् २०२२ मा अमेरिकी ड्रोन हमलामा मारिएका अल-कायदा नेता अयमान अल-जवाहिरीको तस्बिर राखिएको थियो।
त्यसपछि उनी दुबई सरेका थिए। फ्लाई दुबईले ओमानी सरकारसँग उनको पृष्ठभूमि जाँच नगरी नै उनलाई नियुक्त गरेको स्रोतको दाबी छ। अल-हमामी ओमानका नागरिक भए पनि उनको जन्म ओमानबाहिर भएको थियो। उनकी आमा सिरियाली र बुबा ओमानी हुन्। ओमान सरकारले भने उनको नागरिकताका विषयमा आधिकारिक पुष्टि गरेको छैन। स्रोतहरूका अनुसार उनीसँग दोहोरो नागरिकता रहेको सम्भावना छ, जसका कारण उनलाई इजरायल जाने उडानको अनुमति मिलेको हुन सक्ने अनुमान गरिएको छ।
सह-पाइलटको उद्देश्य अझै अज्ञात
कथित आक्रमणमा सह-पाइलटको मूल उद्देश्य के थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन।
“समय बित्दै जाँदा स्थिति स्पष्ट हुँदैछ; आक्रमणकारी इस्लामी अतिवादतर्फ आकर्षित भएका थिए। उनी यात्रुहरूसहित विमान दुर्घटना गराउने उद्देश्यले आएका थिए,” नेतान्याहुले विज्ञप्तिमा भनेका छन्, “उनी कसैको उक्साहट वा निर्देशनमा सञ्चालित थिए कि थिएनन् भन्नेबारे अनुसन्धान भइरहेको छ।”
नेतान्याहुले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटना “आत्माघातीको प्रयासजस्तो” देखिएको बताए। प्रत्यक्षदर्शीहरूका अनुसार सह-पाइलटले विमानलाई सन्तुलनमा राख्नुको सट्टा यसका उपकरणहरू बिगार्ने वा जाम गर्ने प्रयास गरेका थिए। नियन्त्रणमा लिइएपछि उनले आफूलाई मारिदिन भन्दै चिच्याएको फक्स न्युजले जनाएको छ। फक्ससँगको अन्तर्वार्तामा नेतान्याहुले संकलन गरिएको “व्यक्तिगत जानकारी” का आधारमा सह-पाइलट अतिवादी विचारधाराबाट प्रभावित भएको निष्कर्षमा पुगिएको बताए पनि थप विवरण खुलाएनन्।
इजरायली रक्षामन्त्री इजरायल काट्जले यस घटनालाई “जिहादी आतंकवादी आक्रमणको प्रयास” भन्दै सह-पाइलटलाई “आतंकवादी” को संज्ञा दिएका छन्। अर्कातिर, अमेरिकी राष्ट्रपति ट्रम्पले सह-पाइलटको सम्बन्ध इरानसँग हुन सक्ने संकेत गरेका छन्। तर नेतान्याहुले भने इरानको संलग्नताबारे अहिल्यै निष्कर्षमा पुग्न हतार हुने बताएका छन्।
एक इजरायली सुरक्षा अधिकारीका अनुसार, अनुसन्धानकर्ताहरूले यो घटना ९/११ (११ सेप्टेम्बर) शैलीको आतंकवादी आक्रमणको प्रयास हुन सक्ने र आक्रमणकारी एक्लै थिए वा कुनै समूहमा जोडिएका थिए भन्नेबारे विस्तृत छानबिन गरिरहेका छन्।
