

काठमान्डौं
नेपाल कम्युनिष्ट पार्टीले संसदबाट एमसीसी पारित गरिनु आफ्नै मुत्युपत्रमा हस्ताक्षर गर्नु हुने जनाएको छ । सरकारले जनस्तरबाट व्यापक विरोध हुँदाहुँदै विवादास्पद एवं राष्ट्रघाती अमेरिकी मिलेनियम च्यालेञ्च कम्प्याक्ट (एमसीसी) सम्झौता प्रतिनिधि सभामा प्रस्तुत गरेकोमा पार्टीले भत्सर्ना गरेको हो ।
पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीले एक प्रेस वक्तब्य जारी गर्दै प्रतिनिधि सभामा यो सम्झौता टेबुल गरिनु सार्वभौमसत्ता सम्पन्न संसद र सांसदहरुको पनि घोर अपमान हुने जनाएका हुन् ।


नेपालको संविधान, संसद, सर्वाेच्च अदालत र ऐनकानुन भन्दा माथि राखिएको र हिन्द–प्रशान्त रणनीतिको अभिन्न अंग मानिएको तथा अमेरिकी उच्च अधिकारीद्वारा बारम्बार भनिँदै र स्वीकारिँदै आएको छ । नेपाललाई प्रत्यक्ष अमेरिकी सैन्य गुटमा संलग्न गराउने उदेश्यले अनुदानको नाम दिएर गरिएको यो संझौता गरेर नेपाललाई विश्वका शक्ति राष्ट्रहरु बीच परस्पर द्वन्द्वको अखडा बनाउने निहीत स्वार्थमा प्रत्यक्ष परोक्ष फसाउँदै लगिएको प्रष्ट हुन्छ । यसले नेपालको परराष्ट्र नीतिलाई छिन्नभिन्न पार्ने मात्र होइन नेपाललाई अबाञ्छित रणमैदानमा परिणत गर्ने पार्टीले जनाएको छ ।
नेपालको संसद नेपाली जनताको सच्चा प्रतिनिधित्व गर्ने सार्वभौम थलो हो भने त्यसले यो अपमानजनक सम्झौतालाई ठाडै अस्वीकार गरी खारेजी गर्नुको कुनै विकल्प नभएको नेकपाको भनाई छ ।
नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि ठाडै खेलबाड गर्ने र अमेरिकी स्वार्थका हित गर्ने यो सम्झौता खारेज गराउन नेपाली जनता एकताबद्ध भएर राष्ट्रब्यापी संयुक्त आन्दोलनमा उत्रन नेपाल कम्युनिष्ट पार्टी आह्वान गरेको छ ।
एमसीसी खारेजीका लागि संघर्षरत जनसमुदायमाथि सुरक्षा निकायहरुबाट भइरहेको बर्बर दमन रोक्न र दमन गर्नेहरुमाथि कडा कार्वाही गर्न नेपाल कम्युनिष्ट पार्टी राज्यसँग जोडदार माग समेत पार्टीले गरेको छ
