
कृष्णनगर, कपिलवस्तु – जिल्लाको कृष्णनगर नगरपालिका–२ बाल मुकुंदको घरदेखि नाइमिया मस्जिदसम्म सडक नाली निर्माण गर्ने क्रममा टीएनके कन्स्ट्रक्सन कम्पनीले नेपाल खानेपानी संस्थानको मुख्य पाइपलाइन क्षति गरेपछि स्थानीयवासी ३६ घण्टादेखि खानेपानी अभावको सामना गर्न बाध्य भएका छन्।
पानी नआएपछि स्थानीयको दैनिकी प्रभावित
खानेपानी आपूर्ति अवरुद्ध भएपछि स्थानीय बासिन्दाले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका छन्। स्थानीय निवासी जुनैद हलवाईले भने, “पानी नआउँदा खाना पकाउने, सरसफाइ गर्ने र अन्य दैनन्दिन कार्यहरू प्रभावित भएका छन्।”
बिना समन्वय पाइप फुटाइयो, समस्या समाधान अझै अन्योलमा
नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कृष्णनगरका प्रमुख रमेश मग्रातीका अनुसार निर्माण कम्पनीले नाली खन्नुअघि कुनै समन्वय नगर्दा मूल पाइपलाइन फुट्न पुगेको हो। “यदि समयमै समन्वय गरिएको भए वैकल्पिक व्यवस्था मिलाएर पानी आपूर्ति निरन्तर राख्न सकिन्थ्यो,” मग्रातीले भने।
उनले थपे, “हामीसँग तत्काल पाइप मर्मत गर्ने बजेट छैन। नगरपालिकालाई यसबारे पत्राचार गरिसकेका छौँ, तर अझै समाधान भएको छैन।”
नगरपालिकालाई पत्राचार, तर कार्यान्वयन शून्य
नेपाल खानेपानी संस्थानले कृष्णनगर नगरपालिकालाई पत्राचार गर्दै निर्माण अघि पाइपलाइन व्यवस्थापन गर्न आग्रह गरेको छ। पत्रमा उल्लेख छ, “नगर क्षेत्रमा कुनै पनि निर्माण अघि खानेपानी संस्थानसँग समन्वय गर्नुपर्छ। पाइपलाइन व्यवस्थापन नगरी काम गर्दा नागरिक खानेपानीबाट वञ्चित हुनुका साथै स्वास्थ्य जोखिम समेत बढ्छ।”

तर पत्राचार गरेको एक दिन बितिसक्दा पनि नगरपालिकाले कुनै ठोस कदम नचालेको स्थानीयको गुनासो छ।
स्थानीयको माग: तत्काल पानी आपूर्ति पुनर्स्थापना गरियोस्
पानी आपूर्ति बन्द भएपछि आक्रोशित स्थानीयले समस्या समाधानका लागि नगरपालिकाले तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्। एक स्थानीयले चेतावनी दिँदै भने, “यदि तुरुन्तै पानी आपूर्ति व्यवस्थापन नगरिए, हामी आन्दोलन गर्न बाध्य हुनेछौँ।”
समस्या कहिले समाधान
हालसम्म निर्माण कम्पनी, खानेपानी संस्थान र नगरपालिकाबीच समस्या समाधानका लागि कुनै ठोस पहल भएको छैन। स्थानीयवासी अझै पनि पानी आपूर्तिको आशामा छन्। यदि छिट्टै समाधान निकालिएन भने समस्या अझ गम्भीर बन्ने देखिन्छ।

