
लुम्बिनी प्रदेशको सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला कपिलवस्तुमा २२औं राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न स्थानमा रोपाई महोत्सव गरिएको छ। ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु, विभिन्न नगरपालिका र गाउँपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्।
जिल्लाको मनोहरापुरमा आयोजित मुख्य कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले श्रम विदेशिने, मल र सिँचाइको अभावले अन्न उत्पादनमा गिरावट आएको भन्दै चिन्ता व्यक्त गरे। कृषि ज्ञान केन्द्र प्रमुख भास्कर पौडेलले परम्परागत खेती परित्याग गरी आधुनिक प्रविधि र यन्त्रको प्रयोगमा जोड दिँदै धान खेतीलाई अझ उचाइमा लैजानुपर्ने बताए।
हालसम्म जिल्लामा ९ प्रतिशत रोपाई सम्पन्न भएको जानकारी दिँदै कृषकहरूले मल, सिँचाइ, र बीउको चरम अभाव रहेको गुनासो गरे। प्रति हेक्टर ४ मेट्रिक टन उत्पादन हुने अनुमानसहित कपिलवस्तुमा करिब ६५ हजार ८८१ हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

बुद्धभुमी नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र यशोधरा गाउँपालिकाले आ-आफ्ना वडामा सांस्कृतिक कार्यक्रमसहित रोपाई महोत्सव मनाएका थिए। रोपाईसँगै कृषकहरूलाई दही-चिउरा खुवाइ स्वागत गरिएको थियो। कृषकहरूले भने समयमै बीउ, मल र सिँचाइ सुविधा नपाउँदा चिन्ता व्यक्त गरेका छन्।
