
उर्मिला यादव यात्री , साउन १८
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सोमबार १८ लाख ५० हजार नेपाली रुपैयाँ र ९ लाख भारतिय रुपैया सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको अनुसार बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलिया स्थित परासी – नारायण चोक हुलाकी सडकखण्डमा लु १६ प ३७२९ नम्बरको मोटरसाईकललाई शंका लागेर रोकेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ बस्ने ३५ बर्षिय योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने बर्ष २७ को समिर खान रहेका छ्न ।

पक्राउ परेका यादव र खानको साथबाट भारतिय २ हजारका २०७ थान नोट (४ लाख १४ हजार भा.रु.), भारतिय ५ सयका ९७२ थान नोट ( ४ लाख ८६ हजार भा.रु. ) गरी ९ लाख भारतिय रुपैया साथै नेपाली १ हजारका १ हजार ६९ थान नोट ( १० लाख ६९ हजार रुपैयाँ) र ५ सयका १५ सय ६२ थान नोट ( ७ लाख ८१ हजार रुपैयाँ ) गरी १८ लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादव र खानले उक्त रकमको श्रोत खुलाउन नसकेकाले उक्त रकम शंकास्पद रहेको कारण दुबै जनाको साथमा फेला परेको रकम, निजहरुले प्रयोग गरेको मोटरसाईकल सहित दुवै जनालाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
बरामद रकम सहित थप अनुसन्धानको लागि दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासी ले जानकारी दिएको छ ।
