
तिलोत्तमा, १९ मंसिर
महिला सशक्तीकरणमा योगदान पु¥याउने उद्देश्यसहित रुपन्देहीको तिलोत्तमा–३ स्थित नमूना आमा समूहले “महिला क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको छ ।
आमा समूहमा आवद्ध महिलाहरुलाई लक्षित गरेर मंसिर १२ गतेदेखि एकहप्ते तालिम आयोजना गरिएको हो । ३० जना महिलाको सहभागिता रहेको उक्त तालिममा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल र लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद तिवारीले तालिम लिईसकेपछि हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । उनले अवसर पाउने हो भने महिलाहरु पनि अगाडि बढ्न सक्छन् भन्ने कुराको उदाहरण तालिमले दिएको भन्दै यस्ता रचनात्मक काममा नगरपालिका र वडाको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । महिलाको क्षमता बिकासमा आफुले जस्तो सुकै योजना ल्याउन तयार रहेको बताउदै वडाध्यक्ष तिवारीले उचित खालको सल्लाह दिन समेत आयोजक तथा सहभागीलाई आग्रह गरे ।
नगर कार्यपालिका सदस्य गिता सापकोटाले महिलाहरु घरबाहिर निस्कनु हुँदैन भन्ने कुरा बिस्तारै हट्दै गएको र यस्ता तालिमले महिलाहरुको क्षमता विकास र आत्मनिर्भरतमा भूमिका खेल्ने बताइ्न् ।

नमूना आमा समूहकी अध्यक्ष विष्णुमाया पोखरेलले आउदा दिनहरुमा पनि महिलाका लागि कार्यक्रम ल्याउने बताउँदै सक्रियतापुर्वक तालिममा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद व्यक्त गरिन् ।
प्रशिक्षकद्वय लक्ष्मण पौडेल र प्रकाश गौतमले यो तालिमले महिलाहरुमा आफ्नो कुरा आफै राख्न क्षमताको विकास भएको बिस्वास आफुहरुले लिएको बताउँदै नेतृत्व विकासमा यस्ता तालिम उपलव्धिमूलक हुने बताए ।
कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै इन्दु पौडेल ज्ञवालीले तालिमले आफूहरुको ज्ञान हासिल मात्र नभै धारणा परिवर्तनमा समेत सघाउ पु¥याएको बताएका थिए । समापन कार्यक्रममा समूहकी उपाध्यक्ष बिना मल्ल, सचिव विष्णुमाया पराजुली लगायतले पनि आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा वडाध्यक्ष तिवारीले तालिममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
