महेन्द्र मावि कृष्णानगरमा छैन पिउने पानी, विद्यार्थी स्थानीयको घरमा

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नम्बर २ कृष्णनगरमा अवस्थित महेन्द्र माध्यमिक विद्यालय कृष्णनगरमा खानेपानी सरसफाई, भौतिक संरचना लगायत अन्य व्यवस्थापनमा चरम लापरवाही देखिएको छ । नगरपालिकाले विद्यालय व्यवस्थापनको पक्षमा खासै चाँसो नदिएको अभिभावक र विद्यार्थीहरुले आरोप लगाएका छन् ।

विद्यालयमा खानेपानी ट्याङ्की निर्माण भए पनि शुद्ध खानेपानी पिउन नपाएको विद्यार्थीले गुनासो गरेका छन् । विद्यालयमा नल्का समेत नहुँदा पानी पिउनको लागि समस्या भएको उनीहरुले दुखेसो पोखेका छन् । विद्यालयमा खानेपानी नभएर विद्यालय भन्दा बाहिर जोखिमपूर्ण अवस्थामा सडक पार गरि स्थानीयको नल्कामा पानीका लागि जाने गरेको बाध्यता रहेको छ । महेन्द्र माविमा अध्ययनरत विद्यार्थीहरुले यसरी दिनहुँ विद्यालय भन्दा बाहिर गएर पानी खाएर निर्वाह गरिरहेका छन् ।

यस्तै पानीको निकास नहुँदा विद्यालयको प्राङ्गणमा पानीसमेत जमेको छ । विद्यार्थी तथा शिक्षकहरुलाई पडनपाठनमा निकै चुनौती देखिएको छ । जमेको पानी भित्र पसेर विद्यार्थी र शिक्षक आवतजावत गरि रहेका छन् । तर जमेको पानीको निकास, खानेपानीको व्यवस्थापनका लागि नगरपालिकाले कुनै पहल नगरेको विद्यालयका प्रधानाध्यापक मोतिम खाँले बताए । महेन्द्र माध्यमिक विद्यालयले खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि द्रोसो संस्करण २०७५ लाई समेत बेवस्ता गरेको देखिन्छ ।

नेपालको संविधानमा मौलिक हकको धारा ३५ को उपधारा (४) ले प्रत्येक नागरिकलाई स्वच्छ, खानेपानी तथा सरसफाईमा पहुँचको हक सुनिश्चित गरेको छ । तर विद्यालय क्षेत्रको विकास योजनाले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा स्वच्छ, खानेपानी व्यवस्थापन सरसफाई सुविधा र स्वच्छ वातावरणको आवश्यकतालाई बेवास्ता गरिएको छ । सरकारले उक्त कार्यक्रम लागु गरे पनि महेन्द्र माध्यमिक विद्यालयमा खानेपानीको ठुलो समस्या देखिएको भन्दै जनगुनासाहरु बढ्दै गएको छ ।

प्रधानाध्यापक मोतिम खाँका अनुसार विद्यालयको राम्रो व्यवस्थापन तथा शुद्ध खानेपानी सरसफाई तथा भौतिक संरचना व्यवस्थापनको लागि पटक–पटक नगरपालिकामा लिखित माग गर्दा पनि नगरले चाँसो देखाएको छैन । दुई वर्षदेखि व्यवस्थापन समिति समेत नहँुदा विद्यालयको विकासका लागि निकै समस्या भएको छ ।

नगर शिक्षा शाखा प्रमुख बलराम पन्थीले मुख्यमन्त्री विद्यालय सुधार योजना अन्तर्गत खानेपानी तथा सरसफाईको व्यवस्थापनका लागि बजेट माग गरिएको बताए । उनले बजेट उपलब्ध नभएको कारणले खानेपानी तथा सरसफाई व्यवस्थापनका लागि समस्या भएको जनाए । विद्यालयको प्राङ्गणमा सँधै वर्षातको समयमा जमिने पानीको समस्या समाधानको लागि यस आर्थिक वर्षमा ९ लाख रुपैयाँ माग गरेको शिक्षा शाखा प्रमुख पन्थीले बताए ।

विद्यालयको नाममा रहेको जग्गाबाट भएको निजी आर्थिक स्रोतको बारेमा पुर्व प्रधानाध्यापक र व्यवस्थापन समितिले स्पष्ट जानकारी नदिएको र यहाँको महालेखा परिक्षण फितलो भएका कारणले स्पष्ट हुन नसकेको शिक्षा शाखा प्रमुख पन्थीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.