नेपाल हज समितिद्वारा कपिलवस्तुमा हज सचेतना कार्यक्रम

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु 

नेपाल हज समितिको आयोजनामा मङ्गलबार कपिलवस्तुको कृष्णनगरमा हज सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्षहरू र समस्याहरू समाधान गर्ने उपायबारे जानकारी गराइएको थियो।

नेपाल हज समितिका अध्यक्ष इश्रामुल्ला मियाले हजयात्रीहरूको सुविधाका लागि सुधारिएको सेवाबारे चर्चा गर्दै समितिले पारदर्शी रूपमा कार्य गरिरहेको बताउनुभयो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य मङ्गल प्रसाद गुप्ताले समितिले हजयात्रीहरूलाई व्यवस्थित रूपमा मक्का-मदिना पुर्‍याउन गरेको व्यवस्थाको प्रशंसा गर्दै यात्रा गर्दा आउने समस्याहरूलाई गम्भीरताका साथ समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

हज समितिका सदस्य एवं प्रवक्ता मिर्जा रासिद बेगले हजयात्रीहरूलाई जानकारीको अभावका कारण विभिन्न कठिनाइहरू सामना गर्नुपरेकाले यस्ता सचेतना कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो। उहाँले विगतको तुलनामा हाल हजयात्रीहरूका लागि सहज वातावरण सिर्जना गरिएको जानकारी दिँदै, हज यात्राका क्रममा आवश्यक नियमहरूको पालना गर्न विशेष जोड दिनुभयो।

sahani furniture udyog

कार्यक्रममा सहभागी अर्को प्रतिनिधिसभा सदस्य सेरज अहमद फारुकीले हजयात्रीहरूलाई नियम तथा कानुनको पालना गर्न आग्रह गर्नुभयो। मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले हज समिति र मुस्लिम आयोगबीच सहकार्यको महत्त्वबारे प्रकाश पार्नुभयो।

यस्तै, लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिका उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले मुस्लिम बाहुल्य प्रदेशहरूमा प्रदेशस्तरीय हज समिति तथा हज हाउस निर्माणका लागि सरकारसँग माग गर्नुपर्नेमा जोड दिनुभयो। साथै, लुम्बिनी प्रदेशका हजयात्रीहरूको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था गर्नुपर्ने विषयमा पनि ध्यानाकर्षण गराउनुभयो।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, युवा नेता रहिस शाह, अक्रम पठान, डाक्टर अब्विदुल गनी अलकुफी लगायत विभिन्न मौलानाहरूले आ-आफ्ना धारणा राखेका थिए।

यस वर्ष साउदी सरकारले नेपाललाई १,२०० जनाको हज कोटा उपलब्ध गराएको छ। नेपाल हज समितिका अनुसार हज यात्रा ३२ दिनको हुनेछ। छोटो अवधि र सुधारिएको व्यवस्थाले गर्दा हजयात्रीहरूको खर्चमा कमी आउने अपेक्षा गरिएको छ। हजयात्रीहरूको सहज यात्राका लागि समिति र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको निष्कर्ष कार्यक्रमले निकालेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.