
शहबाज खान, कपिलवस्तु
कपिलवस्तु जिल्ला अदालतको आदेशअनुसार नकवजनी चोरी कसुरमा १ वर्ष १ महिना १५ दिन कैद र रु. १,९५,११८ जरिवाना असुल गर्न बाँकी रहेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति ३२ वर्षीय मोहम्मद आजम मुसलमान हुन्, जो कृष्णनगर नगरपालिका–२, पुरानो बसपार्क निवासी हुन्।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा उनलाई २०८१ मंसिर १० गते राति करिब ८ बजे कृष्णनगर–२, पुरानो बसपार्कबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेपछि उनलाई २०८१ मंसिर ११ गते कपिलवस्तु जिल्ला अदालत, तौलिहवामा उपस्थित गराइएको थियो। अदालतले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय तौलिहवा पठाएको छ।
