
कपिलवस्तु, असार २१
निजी विद्यालयहरूमा कार्यरत पूर्व–प्राथमिक तहका शिक्षकहरूलाई लक्षित गर्दै कपिलवस्तुमा तालीम सम्पन्न भएको छ । प्याब्सन र एन प्याब्सनको संयुक्त आयोजनामा, देउराली स्टेशनरीको समन्वय तथा एलाइड पब्लिकेसन्सको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।
गुणस्तरीय सिकाइ प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालीममा जिल्लाका विभिन्न विद्यालयका १ सय ५० जना शिक्षकशिक्षिकाहरू सहभागी थिए । तालीममा एलाइड पब्लिकेसन्सकी पूर्व–प्राथमिक तहको पाठ्यपुस्तक लेखिका सोनी पौडेल तामाङले (नर्सरी, एल.के.जी., यू.के.जी.) प्रशिक्षण दिएकी थिइन् । उनले बालमैत्री शिक्षण विधि, सृजनात्मक अभ्यास तथा बालमनोविज्ञानसम्बन्धी विषयहरूमा व्यावहारिक ढंगले प्रशिक्षण दिनु भएको छ ।
कार्यक्रमको अध्यक्षता देउराली स्टेश्नरीका अर्जुन चापागाईंले गरेका थिए भने प्रमुख अतिथिका रूपमा एन प्याब्सनका केन्द्रीय सचिव तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरे रह्नु भएकोथिए । स्वागत मन्तव्य एन प्याब्सनका कपिलवस्तु अध्यक्ष युवराज घिमिरेले राखेका थिए । कार्यक्रम सञ्चालन प्याब्सनका पूर्व प्रदेश सदस्य कृष्ण भट्टराईले गरेका थिए ।
शान्ति दीप बोर्डिङ स्कुलकी शिक्षिका शकुन्तला बेल्वासेले भनिन्, “हामी विद्यालयमा मात्र सीमित थियौं । यस्ता तालीमले शिक्षणप्रतिको हाम्रो दृष्टिकोणलाई फरक बनाएको छ । विद्यालय फर्किएर अब अझ राम्रो सिकाइ दिन सक्छौं भन्ने आत्मविश्वास प्राप्त भएको छ।”


सहभागी अशोक कुमार पालले तालीम अत्यन्त उपयोगी र फलदायी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई अझ विस्तृत तथा दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रमुख अतिथि प्रकाश गैरेले तालीममा सिकिएको ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारमा उतार्न आग्रह गर्दै भने, “गुणस्तरीय शिक्षा दिन शिक्षकहरूलाई समय–समयमा यस्ता तालीम आवश्यक हुन्छन् । एन प्याब्सन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्ध बताएका छन ।”
