
शहबाज खान, कपिलवस्तु
कपिलवस्तु जिल्लामा पछिल्ला दिनहरूमा तस्करी गतिविधि तीव्र बन्दै गएको छ। तर, यसबारे जिम्मेवार निकायहरूको मौनताले स्थानीयवासीबीच गम्भीर प्रश्न उठ्न थालेका छन्। खुला सीमा क्षेत्रका तस्कर समूहहरू सक्रिय रहँदा प्रहरी प्रशासन र भन्सार निकाय निष्क्रिय देखिएका छन्।
शिवराज नगरपालिका–५ कटनीमा आज गरिएको छापामार कारबाहीले सीमावर्ती क्षेत्रमा तस्करी कति फस्टिएको छ भन्ने प्रष्ट पारेको छ। राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख सुवास श्रेष्ठको नेतृत्वमा गएको संयुक्त टोलीले चन्द्रौटा–कटनीस्थित चिरञ्जीवी खनालको घरबाट लुकाइराखिएका ठूला कपडाका २३ बोरा बरामद गरेको हो। बरामद गरिएका कपडा थप अनुसन्धानका लागि बुटवल लैजाने कार्य भइरहेको श्रेष्ठले जानकारी दिए। सशस्त्र प्रहरीका अनुसार बरामद कपडा सञ्जय गुप्ता नामका एक व्यापारीको गोदाममा भण्डारण गरिएको थियो। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कृष्णनगरका नायब उपरीक्षक (डीएसपी) तुला चौधरीको कमाण्डमा गरिएको संयुक्त अपरेसनमार्फत उक्त कपडा बरामद गरिएको हो।


स्थानीयवासीका अनुसार खुला सीमामा तस्करीको जालो यति गहिरो बनेको छ कि प्रहरी प्रशासनको नाक मुनिनै करोडौँ मूल्य बराबरको सामान आवतजावत भइरहेको छ। राजस्व छलीविरुद्ध प्रभावकारी कदम नचालिँदा ‘निकायबीच मिलोमात्तो त होइन ?’ भन्ने जनगुनासो चर्किएको छ।
राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीले यसबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
