
शहबाज खान, कपिलवस्तु
कपिलवस्तु — विजया दशमीको अवसरमा कपिलवस्तुका कृष्णनगरसहित विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा मूर्तिहरूलाई बिहीबार शान्तिपूर्ण वातावरणमा नदी, ताल तथा पोखरीमा विसर्जन गरिएको छ। विसर्जन कार्यक्रम स्थानीय जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको अगुवाइमा सम्पन्न भएको हो।
कृष्णनगर बजारबाट सुरु गरिएको मूर्ति विसर्जन यात्रामा भक्तजनहरूले नाचगानका साथ बजार परिक्रमा गराउँदै दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीलगायतका मूर्तिहरू धर्मशास्त्रअनुसार नौ दिनको पूजापाठपछि विसर्जन गरेका थिए।
तराई–मधेस क्षेत्रमा विशेषगरी हिन्दू धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ, नौ दिन व्रत र विजया दशमीका अवसरमा मूर्ति विसर्जन गर्ने परम्परा रहेको छ। भीडभाडका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको थियो। विसर्जन यात्रामा निगरानीका लागि ड्रोन क्यामेरा समेत प्रयोग गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।


कृष्णनगर बजार क्षेत्रका १८ भन्दा बढी स्थानमा स्थापना गरिएका मूर्तिहरूलाई शान्तिपूर्ण तरिकाले विसर्जन गरिएको प्रमुख प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिए। सुरक्षाकर्मी, स्थानीय स्वयंसेवक, जनप्रतिनिधि तथा समाजसेवीको सक्रिय सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
विसर्जनका क्रममा आपतकालीन तयारीका लागि एम्बुलेन्स, दमकल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरको टोली समेत चन्दन उपाध्यायको नेतृत्वमा परिचालन गरिएको थियो।
मूर्ति विसर्जन कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, सुनिल मोदनवाल, संजय गुप्ता, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, युवा नेता कुनाल प्रताप शाह, पूर्व मन्त्री विरेन्द्र कुमार कनोडिया लगायत सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डमा सशस्त्र प्रहरी टोली, नेपाल प्रहरी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा हजारौं श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
