
नयाँ राजनीतिक शक्तिको निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकीकृत पार्टी बनाउने छलफल अन्तिम चरणमा पुगेको दाबी गरिएको छ।
तीन नेताबीचको छलफलमा सहभागी एक नेताका अनुसार यो केवल चुनावी गठबन्धन नभई एउटै पार्टी बनाउने सहमतितर्फ अघि बढिरहेको छ। ‘भोलिसम्म एकताको औपचारिक घोषणा हुन सक्छ,’ ती नेताले बताएका छन्।

छलफलमा एकीकृत पार्टीको अध्यक्ष रवि लामिछाने रहने र चुनाव चिह्न घण्टी नै कायम गर्ने सहमति भएको जनाइएको छ। मेयर बालेन र मन्त्री घिसिङबीच हिजो रातिसम्म छलफल भएको र धेरै विषय स्पष्ट भइसकेको स्रोतको दाबी छ।
यसैबीच, एकताको पहलमा सक्रिय रहेका निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले कांग्रेस, एमाले र नेकपाबीच सम्भावित गठबन्धनलाई मध्यनजर गर्दै नयाँ शक्तिहरू एक हुनैपर्ने अवस्था आएको बताएका छन्। उनले एकता भए आगामी चुनावमा बालेन शाह प्रधानमन्त्रीका बलिया दाबेदार हुनसक्ने संकेतसमेत गरेका छन्।
