
समानुपातिकतर्फको बन्दसूची बुझाउने समय एक दिन बाँकी रहँदा तराई–मधेशमा प्रभाव राख्ने दुई ठूला राजनीतिक शक्तिबीच एकता घोषणा भएको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आइतबार साँझ एकीकृत भएका हुन्।
केही महिनादेखि चलेको आन्तरिक गृहकार्यपछि काठमाडौंमा बसेको दुवै पार्टीका पदाधिकारीहरूको संयुक्त बैठकले एकताको निर्णय गरेको नेताहरूले बताएका छन्। जारी विज्ञप्तिमा संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायका मुद्दालाई सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
एकीकृत पार्टीको नाम र संरचनाबारे निर्णय हुन बाँकी रहे पनि चुनाव चिन्हमा भने सहमति भइसकेको छ। आगामी निर्वाचनमा दुवै पार्टी छाता चिन्हमै प्रतिस्पर्धा गर्ने तयारीमा छन्। नेताहरूका अनुसार समानुपातिक र प्रत्यक्ष दुवै तर्फ यही चिन्ह प्रयोग गरिनेछ।
यसअघि पटक–पटक विभाजन र पुनःएकताका अनुभव बोकेका यी दुई शक्ति यसपटक दीगो एकता गरेर चुनावी मैदानमा उत्रने दाबी गरिरहेका छन्। २०७९ को निर्वाचन परिणामले एकताको आवश्यकता देखाएको नेताहरूको भनाइ छ।

नेतृत्व संरचनामा पनि सहमति जुटेको बताइएको छ। सहमतिअनुसार उपेन्द्र यादव र महन्थ ठाकुर समान हैसियतका अध्यक्ष रहनेछन् भने संगठन र उम्मेदवार छनोटमा समान सहभागिता सुनिश्चित गरिनेछ।
यससँगै मधेशका अन्य समान विचारधाराका राजनीतिक शक्तिसँग पनि एकताको पहल अघि बढाइएको नेताहरूले बताएका छन्।
