कपिलवस्तु / चैत्र -६ कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपमेयरका पति तुफेल अहमद र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरको पतिलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो ।
विकास निर्माणका कामको टेण्डर इविल्डीङ्ग र पत्रपत्रिकामा सुचना प्रकाशन गरी प्रक्रिया पुरा गरी टेण्डर आह्वान गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरीले बताए । सबै प्रक्रिया पुरा गरी टेण्डर आह्वान गरेको र सोही टेण्डर खोल्ने क्रममा उपमेयरको पति तुफेल अहमदले आफुलाई कुनै जानकारी नदिई टेण्डर खोल्न लागेको भन्दैे विवाद संगै आफुमाथि गाली गर्दै हातपात गरेको चौधरीले बताए ।
निमित्त प्रमुख प्रशासकिय अधिकृतले आफुमाथि हातपात भएको भन्दै प्रेस विज्ञप्ती समेत निकालेका छन । निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विहिबार दिउँसो १२ः४५बजेको समयमा आफु माथि कार्यकक्षमा नै सोझै हातपात भएको कार्यालयमा सौहाद्रपुर्ण वातावरण र कर्मचारीको सुरक्षा नभए सम्म सम्पूर्ण कामकाज रोक्का गरिएको जनाएका छन।
धेरै दिनदेखि कृष्णनगर नगरपालिकामा प्रशासकीय अधिकृत नहुदा आर्थिक कारोबार ठप्प हुँदा बिकास निर्माणको काम अहिलेसम्म रोकिएको थियो भनेर कर्मचारीहरु पाँच महिनासम्म तलब पाएका थिएनन् ।
कृषि शाखाका प्रमुख रहेका चन्द्रराम चौधरी बितेको फागुन २२ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत पद सम्हालेर नगरका कामकाज सुचारु गराएका थिए । दुई हप्ता नबित्दै आज चौधरी माथि उनको कार्यकक्षमा नै हातपात भएको छ ।