
कपिलवस्तु – मायादेवी गाउँपालिकाले २९ लाख रुपैयाँ खर्चेर निर्माण गरेको खेलमैदान प्रयोगमा नआउँदा करदाता र विकासप्रेमी जनतामाझ आक्रोश छाएको छ। वडा नं. १ ईमिलियामा खेलमैदान निर्माण भइसक्दा पनि वडा नं. ५ स्थित ऐतिहासिक पुरातात्त्विक सम्पदा सिसहनियाकोटमै खेल सञ्चालन भइरहेको छ। प्रशासनको यस्तो गैरजिम्मेवार निर्णयले विकास योजनामाथि गम्भीर प्रश्न खडा गरेको छ।
प्रदेश सरकारको शसर्त बजेट, गाउँपालिकाको लगानी तथा सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुको आर्थिक सहयोगमा निर्माण भएको उक्त खेलमैदान प्रयोगविहीन हुनु योजना असफलताको मात्र संकेत होइन, भ्रष्टाचारको आशंका पनि जन्माउने मुद्दा बनेको
लाखौ खर्च, खेलमैदान बेवारिसे
सम्पन्न खेलमैदानमा माटो सम्याउने, हैण्डपम्प जडान, बाउन्ड्रीवाल तथा शौचालय निर्माण जस्ता पूर्वाधार तयार गरिए पनि प्रयोगमा नआउनु योजना र प्रशासनिक अक्षमताको प्रमाण हो। खेलाडीहरू खेल्न तयार भए पनि खेलमैदान प्रयोग नगर्नु रहस्यमय देखिन्छ।
गाउँपालिकाका इन्जिनियर सुनिल आचार्यका अनुसार खेलमैदान पूर्ण रूपमा तयार छ। तर, स्थानीय खेलाडीहरू, आयोजकहरू र पालिकाका पदाधिकारीहरूले त्यसलाई बेवास्ता गर्दै पुरातात्त्विक स्थलमै प्रतियोगिता सञ्चालन गरिरहेका छन्।
“यदि खेलमैदान प्रयोगयोग्य छैन भने किन लाखौ खर्च गरियो? खेलमैदान ठीक छ भने किन सम्पदामा खेल आयोजना गरियो?” – एक स्थानीय युवा आक्रोशित हुँदै प्रश्न गर्छन्।
सम्पदामै खेल: लापरवाही कि षड्यन्त्र?
पुरातात्त्व विभागले बारम्बार चेतावनी दिँदा पनि पुरातात्त्विक स्थलमै खेल सञ्चालन गरिनु गम्भीर विषय हो। लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्वविद् हिमाल उप्रेतीका अनुसार सिसहनियाकोटमा गरिएको जियो-फिजिकल सर्वेक्षणले तिलौराकोटजस्तै पुरातात्त्विक महत्त्व रहेको प्रमाणित गरिसकेको छ।
“पुरातात्त्विक स्थल संवेदनशील हुन्छन्। त्यहाँ जमिन खन्ने-पुर्ने गतिविधिले संरचनामा क्षति पुर्याउन सक्छ। तर, प्रशासनले यसलाई पूर्ण रूपमा बेवास्ता गरेको देखिन्छ। सम्पदा संरक्षणको जिम्मेवारी लिने निकायहरू नै खेल सञ्चालनमा मौन रहनु आपत्तिजनक छ,” उप्रेतीले भने।
स्थानीय बासिन्दाहरू समेत यति ठूलो खेल संरचना छोडेर सम्पदामा खेल सञ्चालन गरिनु कुनै स्वार्थी उद्देश्य रहेको संकेत भएको बताउँछन्। “यो कि त ठेक्का–कमिसनको खेल हो, कि त कुनै राजनीतिक चलखेल। होइन भने २९ लाख खर्चेर बनेको खेलमैदान किन छोडियो?” एक स्थानीयले प्रश्न
पालिकाको असफलता कि भ्रष्टाचारको खेल?
खेल संरचनाको उचित व्यवस्थापन गर्न नसक्नु विकास योजना फेल भएको उदाहरण हो। स्थानीयवासीहरू यसलाई सिधै प्रशासनिक असफलता मात्रै नभई आर्थिक अनियमितताको रूपमा हेर्दै छन्।
गाउँपालिकाले आफैँ बनाएको खेलमैदान प्रयोग गर्न नसक्नु र सम्पदामै खेल खेल्न दिनु दुईवटा गम्भीर लापरवाहीका संकेत हुन्। यदि खेलमैदान उपयुक्त छैन भने किन लाखौ खर्च गरियो? उपयुक्त छ भने किन प्रयोग भएन?
यस घटनाले स्थानीय निकायहरूको काम गर्ने शैली, भ्रष्टाचारको सम्भावना, र सम्पदा संरक्षणमा प्रशासनको गैरजिम्मेवारीलाई पुनः उजागर गरिदिएको छ। अब प्रश्न छ— यस लापरवाहीको जवाफ कसले दिने?
