
अजय सहानी , असोज ४
कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा रहेको प्राचीन जोडि स्तूप को अस्तित्व संकटमा परेको छ । ऐतिहासिक सम्पदाको संरक्षणमा जिम्मेवार निकाय उदासीन रहँदा स्तूप वरिपरि बालबालिकाको खेलमैदान र पशुचौपायाको चरनस्थलमा परिणत भएको छ।
दुबै स्तूपबीचबाट साइकल, मोटरसाइकल, ट्र्याक्टरलगायतका सवारीसाधन खुलेआम आवतजावत गर्ने गरेका छन् भने भैँसी र बाख्रा स्तूपमै चढ्ने अवस्था बनेको छ। यसले स्तूपको संरचनामा क्षति पुर्याउनुका साथै यहाँ आउने पर्यटकलाई समेत असुरक्षित बनाएको छ। यस्तै स्तुप वरिपरि प्लास्टिक जन्य फोहोर र पशु जन्य गोबरले त्यहा आउने पर्यटकलाइ सास्ति समेत हुने गरेको छ ।
जोडी स्तूप तिलौराकोट दरबार क्षेत्रकै महत्वपूर्ण पुरातात्त्विक धरोहर मानिन्छ। बौद्ध धर्मावलम्बीहरूको दृष्टिमा यी स्तूपहरू शाक्यमुनि बुद्धको जीवनकालसँग प्रत्यक्षरूपमा जोडिएका साक्ष्य हुन्। तिलौराकोटलाई बुद्धको बाल्यकाल व्यतीत भएको स्थानका रूपमा विश्वभर अध्ययन र अनुसन्धान भइरहेकै बेला यी स्तूपहरूलाई विशेष महत्व दिइन्छ।

इतिहासविद्हरूका अनुसार यी स्तूपहरू करिब हजार वर्षभन्दा पुराना मानिन्छन्। मौर्यकालीन ऐतिहासिक स्थल तिलौराकोट को उत्तर तर्फ ५ सय मिटरको दुरीमा बाणगंगा खोलाको किनारमा जोडि स्तुप रहेको ऐतिहासिक स्थल धम्निहवा नामले चिन्हिन्छ । यसको उत्खनन पुरातत्त्व विभागले सन् १९६८ र १९६९ का बीचमा गरेको हो । नेपाली पुरातत्त्वविद् वि. के. रिजाल अनुसार स्तुपहरु बुद्धका आमाबुवाको स्मरणमा बनाइएको हुनसक्ने बताएका छन् । ठूलो स्तुपा ५२ फिट डायमिटर भएको गौतमबुध्दका बुवा राजा शुद्धोधन र सानो स्तुपा २६ फिट डायमिटर भएको गौतम बुद्ध को आमा रानी मायादेवीप्रति समर्पित गरिएको हुन सक्ने बताउछ्न । टी. एन. मिश्रले ठूलो स्तुप सम्भवतः चौथो शताब्दीमा निर्माण गरिएको हुन सक्ने बताएका छन् ।
यस्तो महत्वपुर्ण धरोहरको पटक–पटक संरक्षणको माग उठे पनि सामान्य तारबारसमेत हुन नसक्नु नियोजित बेवास्ता भएको स्थानीयवासीको आरोप छ। तिलौराकोट दरबार क्षेत्रमा दर्जन हाराहारी मा गार्ड खटाउन सक्ने लुम्बिनी विकास कोषले जोडी स्तूपमा एउटा गार्ड पनि नखटाउनु लापरबाहीभन्दा बढी सुनियोजित चलखेल भएको आकलन गरिएको छ।
लुम्बिनी विकास कोष र पुरातत्त्व विभाग दुबै निकाय मौन बसेका कारण स्तूप संरक्षण दिन प्रतिदिन संकटमा परेको छ। यसले तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयासलाई खोक्रो नारा मात्रै सावित गराएको स्थानीयवासीको टिप्पणी छ। कोषका प्रतिनिधि , गार्ड बिरलै त्यो ठाउमाँ पुग्ने गरेको पाइएको छ । यसै बिषयमा लुम्बिनि बिकास कोषका परिषद सदस्य गोपि कृषण शर्मा सगं प्रतिक्रिया लिदा उनले यस बिषयमा परिषद बैठक दौरान पटक पटक आवाज उठाएको र थप गार्ड राख्न प्रस्ताव गरेको तर सुनुवाइ नभएको बताए । उनले भएका गार्ड मार्फत त्यहाको संरक्षण गर्न लुम्बिनि बिकास कोष बिफल रहेको समेत बताउदै उनले दुखेसो पोखेका छ्न ।
स्थानियबासिहरुले स्तूप क्षेत्रको तारबार, पशुचरण रोकथाम, सुरक्षागार्ड खटाउने र वैज्ञानिक ढंगले संरक्षण गर्ने माग गरेका छन्। स्थानीयवासीले स्तुप को संरक्षणमा गम्भीरता नदेखाए स्तूप हराउने मात्र होइन, नेपालको गौरवशाली इतिहासकै धरोहर गुम्ने बताउछन्।
